

पोखरा । पोखराको प्रमुख पर्यटकीय मुटु मानिने लेकसाइड क्षेत्रमा अनैतिक क्रियाकलाप, लुटपाट र पर्यटकलाई हैरानी दिने कार्यमा संलग्न १६ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले आइतबार राति साढे १२ देखि २ बजेसम्म विशेष अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो।
लामो समयदेखि लेकसाइडका सडकमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक दुःख दिने र प्रलोभनमा पारेर रकम असुल्ने उजुरी बढेपछि प्रहरीले छापा मारेको थियो। कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेकाहरूले पर्यटकलाई विभिन्न प्रलोभन देखाएर नजिकिने र मौका मिल्नासाथ लुटपाट गर्ने गरेका थिए। पक्राउ परेकामध्ये केही यसअघि पनि पटक(पटक यस्तै क्रियाकलापमा संलग्न ‘पटके’ अभियुक्त रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज डीएसपी नमराज भट्टराईका अनुसार यी महिलाहरूको ठगी गर्ने शैली निकै अनौठो र सुनियोजित देखिएको छ। कतिपयले अनैतिक सम्बन्धका लागि सुरुमा पर्यटकसँग रकम बुझ्ने र होटलनजिक पुगेपछि ’मेरो श्रीमान् आयो’ भन्दै डर देखाएर रकमसहित भाग्ने गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकामध्ये १८ वर्ष मुनिका किशोरीहरूलाई सुधारका लागि पुनर्स्थापना केन्द्र पठाइएको छ भने अन्यको हकमा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको छ। केहीलाई भने अभिभावकको रोहबरमा जिम्मा लगाइने प्रहरीले बताएको छ।
पर्यटकीय राजधानी पोखराको छविमा दाग लाग्ने गरी भइरहेका यस्ता विकृति रोक्न प्रहरीले अहिले ‘क्लिन लेकसाइड’ अभियान नै सुरु गरेको छ। डीएसपी भट्टराईले कमाण्ड सम्हालेपछि लेकसाइडमा हुने गुण्डागर्दी र डान्स बारहरूमा बाउन्सरहरूको दादागिरीविरुद्ध पनि कडा कदम चालिएको छ।
‘लेकसाइडलाई विकृति र विसंगतिमुक्त बनाउन शान्ति सुरक्षामा खलल पुर्याउने र खुलेआम वेश्यावृत्तिमा संलग्न हुनेहरूलाई कुनै हालतमा छोडिने छैन,’ डीएसपी भट्टराईले स्पष्ट पारे। प्रहरीले लेकसाइडलाई सुरक्षित र मर्यादित बनाउन स्थानीय बासिन्दासँग पनि सहयोगको अपिल गरेको छ।

