

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन्।
भट्टसँग सम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएपछि राजनीतिक तरंग पैदा भएको हो। अनुसन्धानकै दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ संलग्न देखिएपछि निष्पक्ष छानबिन प्रभावित हुने भन्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भित्रैबाट उनको राजीनामा माग उठ्न थालेको छ। बढ्दो दबाबबीच गृहमन्त्री गुरुङ आइतबार राति पार्टी सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका थिए। सुरक्षास्रोतका अनुसार उनी बेलुकी करिब ८ बजे पुगेका र राति १० बजेतिर फर्किएका थिए।
भेटका क्रममा गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र सभापति लामिछानेबीच टेलिफोन संवाद गराउँदै राजीनामाको दबाब कम गर्ने प्रयास गरेको स्रोतले जनाएको छ। यद्यपि सभापति लामिछानेले विषयलाई पार्टी बैठकमै छलफल गर्नुपर्ने धारणा राखेका छन्। सोमबार पनि पार्टीको बैठक जारी रहने बताइएको छ।

