

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।
बैठकमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा तथा सुझावका आधारमा पहिचान भएका संविधान संशोधनसम्बन्धी प्रमुख मुद्दाहरूमा छलफल हुने बताइएको छ। साथै, कार्यदलको आगामी कार्ययोजना र कामकारवाहीबारे पनि विस्तृत विमर्श गरिनेछ।
यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो।
कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधानसभा सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही, तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहेका छन्।

