
कैलाली । कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका अवैध सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाट, वडा नम्बर ३ ज्ञानु प्लाजा नजिक तथा चटकपुर क्षेत्रबाट अन्दाजी २ लाख १४ हजार १०० रुपैयाँ बराबरका कपडा, सुटपिस, प्लास्टिक झिल्ली र बाख्रालगायतका सामान प्रहरीले बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–४ गोबरिया, दोधारा चाँदनी नगरपालिका–३ कल्चुघाट तथा बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी ४५ हजार ६३० रुपैयाँ बराबरका पेय पदार्थ, केरा र ब्रोइलर कुखुरालगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

