

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको ११औँ बैठक विभिन्न महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ।
वैशाख १४–१५ गते प्रदेश कार्यालय धनगढीमा सम्पन्न बैठकले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयसम्मका एजेन्डामा निर्णय गरेको हो। प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य एवं प्रदेश संयोजक गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यमा बसेको बैठकमा जिल्लास्तरका पार्टी गतिविधि र प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गरिएको थियो। बैठकमा अध्यक्ष जैशीले राजनीतिक प्रतिवेदन, सचिव रणबहादुर चन्दले वार्षिक तथा आगामी कार्ययोजना र उपसचिव नरबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संगठन सुदृढीकरणमा जोड बैठकले वैशाख–जेष्ठभित्र पार्टी सदस्यता अद्यावधिक गरी भौतिक उपस्थितिमै नवीकरण गर्ने तथा त्यसलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ। त्यसैगरी अछाम, डोटी र बझाङमा भदौ मसान्तसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। सबै जनसंगठन तथा पेशागत संगठनका प्रदेशस्तरीय भेला र सम्मेलनमार्फत असोज मसान्तभित्र कमिटी गठन तथा पुनर्गठन गर्ने निर्णय पनि गरिएको छ।
जेष्ठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवस र साउन ७ गतेको पुष्पलाल स्मृति दिवस लगायतका कार्यक्रम पालीका तहसम्म विस्तार गर्ने निर्णय बैठकले गरेको छ। बैठकले विभिन्न समसामयिक विषयमा प्रस्ताव पारित गर्दै सरकारको आलोचना गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै झुट्टा मुद्दा खारेज गर्न माग गरिएको छ। त्यस्तै सुकुम्बासी व्यवस्थापन, बढ्दो महँगी, किसानका लागि मल–बीउ अभाव, विपद् तयारी, तथा स्वास्थ्य र पूर्वाधार विकासका विषयमा सरकारलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ। सीमा, अन्तर्राष्ट्रिय र विकासका मुद्दा उठान दार्चुला क्षेत्रको लिम्पियाधुरा–लिपुलेक सीमामा भइरहेको भनिएको हस्तक्षेपप्रति बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै कूटनीतिक पहल गर्न माग गरेको छ।
अन्तर्राष्ट्रिय रूपमा युद्ध र हस्तक्षेपको निन्दा गर्दै वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिइएको छ। त्यसैगरी गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, दुर्गम क्षेत्रमा सडक र खानेपानी पहुँच विस्तार, तथा जनजीवनसँग सम्बन्धित आधारभूत सेवामा सुधार गर्न सरकारसँग माग गरिएको छ।
बैठकले आम निर्वाचन २०८२ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै मतदाताप्रति आभार व्यक्त गरिएको प्रदेश उपसचिव , प्रचार तथा प्रकाशन बिभाग प्रमुख भागरथी बिष्टले जानकारी दिइन् । प्रदेश कमिटी बैठक पछि पार्टी थप सुदृढ तथा सशक्त बन्ने बिश्वास लिएको उनले बताइन् ।

