

सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमविरुद्ध सुकुम्बासीहरू सडक आन्दोलनमा उत्रिने भएका छन्।
अखिल नेपाल सुकुम्बासी संघको अगुवाइमा चरणबद्ध आन्दोलन सुरु गरिने जनाइएको छ। संघले आज पत्रकार सम्मेलनमार्फत् आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै विरोध प्रदर्शनदेखि अनिश्चितकालीन आम हडतालसम्मका कार्यक्रम अघि सारेको छ।
यसैगरी, जनताको हितमा काम नगरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधिहरूलाई फिर्ता बोलाउन ‘राइट टु रिकल’ अभियान सञ्चालन गर्ने पनि घोषणा गरिएको छ। देशव्यापी रूपमा प्रधानमन्त्री तथा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरूविरुद्ध हस्ताक्षर संकलन गरिने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्रीको निर्देशनमा नेपाली सेनासमेत परिचालन गरी थापाथली, सिनामंगल र मनोहरा नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो। यस्तै, काठमाडौँ उपत्यकासहित देशका अन्य भागमा पनि बस्ती हटाउने तयारी भइरहेको बताइएको छ।
सरकारको यस कदमप्रति विपक्षी दलहरूले एकस्वरमा विरोध जनाइरहेका छन्। तर, साना घटनामा पनि तुरुन्त प्रतिक्रिया दिने विभिन्न अभियन्ता, अधिकारकर्मी तथा सरोकारवालाहरू यस विषयमा अहिलेसम्म मौन रहेको आरोप लागिरहेको छ।
डोजर कारबाहीपछि बिरामी, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकासमेत खुला आकाशमुनि आश्रय खोज्दै हिँड्न बाध्य भएको दृश्य सार्वजनिक भइरहेका छन्। यस्तो संवेदनशील अवस्थामा समेत अधिकारकर्मीहरूको मौनता देखिनु चिन्ताजनक रहेको भन्दै ‘प्रश्न मरेको’ टिप्पणीसमेत हुन थालेको छ।

