नेतामात्र होइन, सरकार नै फेर्ने तयारी गुण्डुबाट
सुदूरपश्चिम एमाले विवाद निर्णायक मोडमा, नेतृत्व परिवर्तन र सरकार फेरबदलको संकेत



सुदूरपश्चिममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवाद बुधबार निर्णायक चरणमा प्रवेश गरेको छ। संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउने विषयमा केन्द्रीय नेतृत्व सक्रिय बनेसँगै भक्तपुरस्थित निवासमा अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका ११ सांसदसँग महत्वपूर्ण छलफल गरिरहेका छन्।
रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि नेतृत्व परिवर्तनको प्रयास भए पनि सफल हुन सकेको थिएन। तर आजको बैठकले भने दल नेता परिवर्तन टुंग्याउने सम्भावना बलियो देखिएको छ।
छलफल केवल दल नेता फेर्ने विषयमा सीमित नरही प्रदेश सरकारको समीकरण परिवर्तनसम्म पुगेको छ। हाल नेपाली कांग्रेस नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धन बनाउने विकल्पमा पनि गम्भीर बहस भइरहेको स्रोतले जनाएको छ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग सहकार्यको सम्भावनाबारे समेत शीर्ष तहमा संवाद चलिरहेको छ, जसको सुरुवात सुदूरपश्चिमबाटै गर्ने प्रस्ताव अघि सारिन सक्ने देखिन्छ।
हाल कमलबहादुर शाह नेतृत्वको सरकार कांग्रेस–एमाले गठबन्धनको समर्थनमा कायम छ। ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य मात्र सक्रिय छन्, जहाँ सत्ता र प्रतिपक्षबीचको शक्ति सन्तुलन निकै संवेदनशील अवस्थामा छ।
रावल हटेमा नयाँ संसदीय दल नेता चयन चुनौतीपूर्ण देखिएको छ। उपनेता सन्तोष शर्मालाई केन्द्रीय नेतृत्वको प्राथमिकतामा राखिएको बताइए पनि उनको पक्ष–विपक्षमा तीव्र लविङ भइरहेको छ।
अन्य आकांक्षीहरूमा प्रमुख सचेतक चक्रबहादुर मल्ल, सभापति धर्मराज पाठक र मन्त्री सुरेन्द्र पाल समेत दौडमा छन्।
यदि सहमति जुट्न नसके नेतृत्व परिवर्तनको एजेण्डा फेरि अल्झिन सक्ने जोखिम कायमै छ। आजको छलफलले सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण मात्र नभई राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने संकेत देखिएको छ।
