

धनगढी । नेपाली कांग्रेसभित्र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व र कार्यशैलीलाई लिएर गम्भीर बहस सुरु भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही प्रदेशसभा सदस्यले नेतृत्व परिवर्तनको माग गरेपछि पार्टी सभापति गगनकुमार थापाले प्रदेश नेतृत्वसँग छुट्टै छलफल गरेका हुन् ।
शुक्रबार धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलापछि सभापति थापाले उपसभापति विश्वप्रका शर्मा, महामन्त्री गुरु घिमिरे तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूसँग अबेर रातिसम्म छलफल गरेका थिए ।
छलफलमा सरकारको कामकारबाही, मन्त्रीहरूको भूमिकादेखि बजेट वितरणसम्मका विषयमा सांसदहरूले खुला रूपमा असन्तुष्टि पोखेका थिए ।
असन्तुष्ट सांसदहरूले सरकारको कार्यसम्पादन कमजोर रहेको, योजना वितरणमा पक्षपात भएको तथा सीमित नेतामात्र लाभान्वित भएको आरोप लगाउँदै तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग राखे । केही सांसदले मुख्यमन्त्री नै परिवर्तन गर्नुपर्ने धारणा पनि राखेका थिए ।
छलफलमा बैतडीबाट निर्वाचित शिवराज भट्टलाई दोस्रो पटक मन्त्री बनाइएको विषय समेत उठाइएको थियो । सहभागी एक सांसदका अनुसार “कसैलाई पटक–पटक अवसर दिने र कसैलाई कार्यकालभर जिम्मेवारी नदिने प्रवृत्तिले असन्तुष्टि बढाएको” भन्दै सरकार पुनर्गठनको आवश्यकता औंल्याइएको थियो ।
बैठकको सुरुमै मुख्यमन्त्री शाह र प्रदेश मामिला तथा विधायन समितिका सभापति दिवानसिंह बिष्टबीच चर्काचर्की समेत भएको स्रोतले जनाएको छ । बिष्टले विशेष महाधिवेशनपछि पनि मुख्यमन्त्री शाहले सभापति थापालाई स्वीकार नगरेको आरोप लगाएपछि दुवै नेताबीच केहीबेर विवाद भएको थियो ।
जवाफमा मुख्यमन्त्री शाहले अदालतको निर्णयपछि आफूले सभापति थापालाई अस्वीकार नगरेको स्पष्ट पार्दै विशेष महाधिवेशनअघि भने अधिकांश नेता शेरबहादुर देउवाकाे पक्षमा उभिएको स्मरण गराएका थिए ।
सरकारविरुद्ध चर्को असन्तुष्टि देखिए पनि कांग्रेसभित्र तत्काल मुख्यमन्त्री फेर्न नहुने मत बलियो देखिएको छ । प्रमुख सचेतक बिक्रमसिंह धामीसहित केही सांसदहरूले अहिले नेतृत्व परिवर्तन गर्दा सत्ता समीकरण फेरिन सक्ने र कांग्रेस सरकारबाट बाहिरिन सक्ने जोखिम रहेको धारणा राखेका थिए ।
उनीहरूले मुख्यमन्त्री हटाउनुको सट्टा सबै मन्त्री परिवर्तन गरेर नयाँ अनुहारलाई अवसर दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । छलफलमा नेकपा र एमालेबीच नयाँ समीकरण बन्न सक्ने सम्भावनाबारे समेत गम्भीर रूपमा समीक्षा भएको नेताहरूले बताएका छन् ।
सभापति थापाले भने अहिले पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकार, बजेट निर्माण र मन्त्री हेरफेरका विषयमा काठमाडौं फर्किएपछि थप छलफल गरेर निर्णय लिइने उनले बताएका थिए ।
“अहिले एकअर्कामाथि असन्तुष्टि पोख्नेभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने समय हो,” थापाको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।
थापाले एमालेसँग प्रदेश सरकारका विषयमा संवाद भइरहेको जानकारी दिँदै प्रदेशमा सन्तुलित बजेट निर्माणका लागि आवश्यक मार्गदर्शन उपलब्ध गराइने पनि बताएका थिए ।
साथै उनले निवर्तमान सभापति देउवा पार्टीका आदर्श नेता भएको उल्लेख गर्दै पुरानो कार्यसमितिमा रहेका नेताहरूलाई समेत नयाँ केन्द्रीय संरचनामा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

