

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुुशीला शाही र मुख्यमन्त्री कमलबहादुर शाहको आपसी मतभेदका कारण लम्कीचुुहा अस्पतालको विवाद फेरि बल्झिएको छ ।
प्रदेशले प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको लम्कीचुहा नगर अस्पताल सञ्चालनका लागि सोमबार डाक्टरसहितका कर्मचारी पठाएको थियो । तर मेयर शाहीले उनीहरुलाई अस्पतालमै पुुगेरै बाहिर निकालेको घटना सार्वजनिक भएको छ ।
कर्मचारीलाई शाहीले आधिकारीक नभएको भन्दै बाहिर निकालेको सार्वजनिक अडियोमा स्पष्ट सुन्न सकिन्छ । सोही विवादका क्रममा मेयर शाहीले लम्कीचुहाकै एक स्थानीय व्यक्तिलाई मदिरा सेवन गरेर बढि बोल्ने गरेको आरोप लगाएकी छन् ।
‘यही देवकोटा दाइ नगरपालिकाको बारेमा एक शब्द बोल्दैन् । क्वाटर (मदिरा) खाएर आएर बोल्छ । ७–७ करोड यसैले हालिदिएर अस्पताल चलेको हो,’ उनले भनेकी छन्, ‘यो मान्छे अति धेरै गर्यो क्या । मिटिङ चलिरहेका बेला तपाई भित्र गएर पस्ने हो ? तपाईलाई कसले बोलायो ?’
मेयर शाहीको हप्काई र नचाहिदो आरोप खेपेका देवकोटा लम्कीकै स्थानीय भएको खुलेको छ ।
उनी लम्कीका पारस देवकोटा हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का पूर्व सुदूरपश्चिम प्रदेश सचिव रहेका उनी पनि विवाद भएका बेला त्यहाँ पुगेका थिए ।
सोही बेला मेयर शाहीले आफूमाथि नचाहिदो आरोप लगाएर दुर्व्यवहार गरेको उनी बताउछन् । कहिल्यै मदिरा सेवन समेत नगर्ने आफूमाथि मेयरले अनावश्यक आरोप लगाएर बदनाम गरेको बताए । उनले शाहीले नगरबासीको स्वास्थ्यसँग जोडिएको लम्कीचुहा अस्पताल सञ्चालनमा अवरोध सिर्जना गर्ने कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल सञ्चालन गर्न दिनुुपर्ने माग गरेका छन् ।
,

