
लालीगुराँस नगरपालिका ले बाँदरको बढ्दो समस्या नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियान प्रभावकारी बनाउन नगरपालिकाले जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरप्रमुख अर्जुन माबोहाङ द्वारा जारी सूचनाअनुसार बाँदर धपाउन ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने भएकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द रहनेछन्।
नगरपालिकाका अनुसार बाँदरको समस्या सामान्य देखिए पनि यसले कृषकको दैनिकीमा गम्भीर असर पारेको छ। कृषिउपज जोगाउन किसानहरू रातदिन खेतबारीमा बस्न बाध्य छन् भने कतिपय बालबालिका विद्यालय जानबाट समेत वञ्चित भएका छन्।
यस समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। सोही अन्तर्गत वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचना निर्माण गरी बाँदर हेरालु समेत परिचालन गरिएको छ।
विशेष गरी जंगल नजिकका बस्तीमा बाँदरको समस्या विकराल बन्दै गएको नगरपालिकाको भनाइ छ। नगरप्रमुख माबोहाङले दीर्घकालीन समाधान राष्ट्रिय स्तरबाट आवश्यक भए पनि तत्कालका लागि स्थानीय तहले आफ्नै स्रोतसाधन प्रयोग गरेर किसानलाई राहत दिने प्रयास थालेको बताए।
यस्तै, वडा नम्बर ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता देवेन्द्र खड्का का अनुसार जेठ १ र २ गते ‘बाँदर लखेटी नगरपालिका सिमाना कटाउने’ विशेष अभियान सञ्चालन गरिनेछ। अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

