

‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ। मंगलबार धनगढीस्थित चैतन्य पाठशालामा आयोजित कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले ट्रफी सार्वजनिक गरेका हुन्।
चैतन्य पाठशाला, धनगढीको आयोजनामा तथा कैलाली जिल्ला फुटबल संघको सञ्चालनमा हुने प्रतियोगिता मंसिर २५ गतेदेखि पुस ९ गतेसम्म धनगढी रंगशालामा आयोजना हुनेछ।
‘फुटबल फर स्कूल : रोड टु वर्ल्ड कप’ कार्यक्रमसँग जोडिएको प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकामा फुटबलप्रतिको रुचि अभिवृद्धि गर्नु, विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडीको पहिचान गर्नु तथा जिल्लामा फुटबलको विकास र प्रवर्द्धन गर्नु रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए।
उनले यस वर्षदेखि सुरु हुन लागेको प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने जानकारी दिए। “ग्रासरुट फुटबलको विकास गर्ने उद्देश्यले चैतन्य पाठशालाले कैलाली जिल्ला फुटबल संघसँग मिलेर हरेक वर्ष आयोजना गर्नेछ,” उनले भने, “यो प्रतियोगितालाई आगामी दिनमा प्रदेशस्तरमा विस्तार गर्दै थप परिस्कृत बनाउँदै लैजानेछौँ।”
अध्यक्ष जोशीले विद्यालयस्तरबाटै खेलाडीको क्षमता विकास गर्दै फुटबलमा विश्वस्तरीय दक्षता हासिल गर्ने आधार तयार गर्न विद्यालयहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।
कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले चैतन्य पाठशालासँग सहकार्य गरेर प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे। उनले १५ वर्षमुनिको साफ च्याम्पियनसिपलाई लक्षित गर्दै उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले १४ वर्षमुनिका छात्र तथा छात्राको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले चैतन्य पाठशालाले शिक्षा, खेलकुद तथा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको बताए। उनले खेलकुदका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मंसिर २५ देखि पुस ९ गतेसम्म आयोजना हुने प्रतियोगितामा कैलाली जिल्लाका ३२ विद्यालय सहभागी हुनेछन्। छात्रतर्फ १६ र छात्रातर्फ १६ विद्यालयका टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित २० खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टसहित २३ जना रहने व्यवस्था गरिएको छ।
यसअनुसार ३२ टोलीका अफिसियलसहित ७३६ जनाको प्रत्यक्ष सहभागिता रहनेछ। प्राविधिक तथा व्यवस्थापन पक्षसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास, छात्र तथा छात्राको खेल सहभागिता अभिवृद्धि र भविष्यका प्रतिभावान् खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक चैतन्य पाठशालाले लिएको छ।

