

काठमाडौं । सरकारले देशका विभिन्न १२ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई क्यासिनोमा नेपाली नागरिकको प्रवेश नियन्त्रण गर्न कडा निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले परिपत्र जारी गर्दै क्यासिनोहरूको नियमित अनुगमन, निगरानी तथा स्थलगत निरीक्षण प्रभावकारी बनाउन आग्रह गरेको हो ।
पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने तथा स्वीकृत इजाजतभन्दा बाहिरका अवैध खेल सञ्चालन गरिरहेको गुनासो बढेपछि विभागले प्रशासनलाई सक्रिय हुन निर्देशन दिएको जनाएको छ । यो विषय संघीय संसद्को प्रतिनिधिसभामा समेत उठाइएको थियो ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षर गरिएको पत्र झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
विभागले पर्यटन ऐन, २०३५ र क्यासिनो नियमावली, २०८२ अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश तथा खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ । साथै, क्यासिनो सञ्चालकहरूले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको समेत पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
परिपत्रमा जिल्ला प्रशासन कार्यालयहरूलाई कानुनविपरीत नेपालीको प्रवेश वा अन्य अवैध गतिविधि हुन नदिन आवश्यक व्यवस्था मिलाउन भनिएको छ । अनुगमनका क्रममा नियम उल्लंघन भएको पाइए तत्काल कानुनी कारबाही अघि बढाएर पर्यटन विभागलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ ।


