जनताका घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी

cp new add
Nisharg hospital
suchana

काठमाडौं । रुपन्देहीको बुटवलका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहिरहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । आइतबार (जेठ ३) बुटवलमा आयोजित विरोध प्रदर्शनका क्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने उनीहरूले चेतावनी दिए । सरकारको ध्यान महँगी नियन्त्रण र सीमारक्षातर्फ नभई गरिबका घरटहरा भत्काउनेमा केन्द्रित भएको उनीहरूले आरोप लगाए ।

दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका र बाकसमा लास फर्कने क्रम नरोकिएको उनीहरूले उल्लेख गरे । उनीहरूले सरकार जनसरोकारका मुद्दामा अनुदार बनेको बताए ।

आफ्ना माग प्रस्तुत गर्दै प्रदर्शनकारीले ७० हजार हेक्टरभन्दा बढी नेपाली भूमि हडपिँदा सरकार मौन बसेको टिप्पणी गरे । आफ्नै नागरिकमाथि डोजर आतंक सिर्जना गरिएको भन्दै उनीहरूले आपत्ति जनाए ।

उनीहरूले राष्ट्रियस्तरको आन्दोलनको तयारीस्वरूप सातबुँदे मागपत्र समेत अघि सारेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई उनीहरू हाल बसिरहेकै स्थानमा लालपुर्जाको व्यवस्था गरिनुपर्ने, बसोबासयोग्य जमिनका निम्ति १० र कृषियोग्यलाई ५ प्रतिशत मात्र करको दायरा कायम गरी जग्गा धनीपुर्जा वितरण गरिनुपर्ने, भूमिहीन दलितहरूका लागि निःशुल्क लालपुर्जाको ग्यारेन्टी गरिनुपर्ने, विकासका नाममा जनतालाई विस्थापित गर्दा उचित क्षतिपूर्ति र सोही स्थानीय तहभित्र सुविधासम्पन्न स्थानमा पुनर्स्थापना गरिनुपर्ने उनीहरूको माग छ ।

लोकप्रियतवादका नाममा कानुनविपरीत नागरिकलाई दुःख दिने काम भए इतिहासमा हिटलर र सिक्किमका लेन्डुप दोर्जेको जस्तै पतन हुने उनीहरूको चेतावनी छ ।

तिनाउ–दानव कोरिडोरलगायत आयोजनाका नाममा जनतालाई अन्यत्र सार्ने प्रयास भइरहेको भन्दै उनीहरूले रोजगारी र स्वास्थ्यको ग्यारेन्टी नभएको स्थानमा होल्डिङ सेन्टरजस्तो गरी बस्न नसकिने स्पष्ट पारेका छन् । आफूहरूलाई अपराधीजस्तो व्यवहार नगर्न आग्रह गर्दै उनीहरूले माग सम्बोधन नभए देशभर सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...