

धनगढी । सुदूरपश्चिमका तीन जिल्लामा प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ चेतन होटल नजिक, वडा नम्बर १३ बैजनाथ मन्दिर क्षेत्र तथा बेलौरी नगरपालिका–१० सडकघाटबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ७३ हजार ५ सय ४४ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा क्रिम, पाउडर, तेल, साबुन, विभिन्न औषधि तथा किराना सामग्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट भारतबाट अवैध रूपमा ल्याइएको करिब २१ हजार रुपैयाँ बराबरको सिद्रा माछा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले बुधबार उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।
उता बैतडीको दशरथचन्द नगरपालिका–२ सुँगरखालीबाट करिब १ लाख ४४ हजार रुपैयाँ बराबरको ३६० बण्डल पनिहारिन बिँडी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरीले जनाएको छ ।

