


कैलाली ।अनेरास्ववियु कैलाली जिल्ला कमिटीको बैठक सोमबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
बैठकले दुईदिने ‘अखिल बजार मेला’ सञ्चालन गर्ने, रोजगार विभाग गठन गर्ने तथा जिल्ला कमिटीका रिक्त पदहरूमा जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष कुबेर खड्काले जानकारी दिए।
अध्यक्ष खड्काका अनुसार ‘अखिल बजार मेला’ मार्फत कैलालीका विभिन्न विद्यालय तथा क्याम्पससँग समन्वय गरी विद्यार्थीहरूमा रहेको सीप र कलालाई व्यवसायसँग जोड्ने उद्देश्य राखिएको छ।
त्यस्तै, विशाल रानाको संयोजकत्वमा रोजगार विभाग गठन गरिएको छ। जिल्लाका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय व्यवसायीसँग समन्वय गरेर रोजगारीको अवसर उपलब्ध गराउने लक्ष्यसहित विभाग गठन गरिएको अध्यक्ष खड्काले बताए।
बैठकले जिल्ला कमिटीमा रिक्त रहेका पदहरूमा पनि जिम्मेवारी तोकेको छ। सचिवमा हरेन्द्र बुढा र कोषाध्यक्षमा सुबेक्षा भण्डारीलाई जिम्मेवारी दिइएको छ।
जिल्ला कमिटी अध्यक्ष कुबेर खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी रहेका थिए।

