


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को कैलाली जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बदर गर्ने पार्टी केन्द्रको निर्णयको पार्टीका नेताहरूले विरोध गरेका छन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर गर्ने निर्णय गरेको थियो। तर सोमबार धनगढीमा सुरु भएको रास्वपाको सुदूरपश्चिम प्रदेश महाधिवेशनमा उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरिएको हो।
प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्टले ठूलो मेहनतका साथ सम्पन्न गरिएको अधिवेशनको नतिजा सम्बन्धित पक्षसँग कुनै परामर्श नगरी बदर गरिएको भन्दै आक्रोश व्यक्त गरे।
“रातदिन मेहनत गरेर जिल्ला समिति बनाएका थियौँ। सबै जिल्लामा अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न भयो, तर कैलालीमा अन्याय भएको छ,” उनले भने, “३३५ मतमध्ये २३८ मत ल्याएर निर्वाचित भएको व्यक्तिलाई कसैको चित्त नबुझेको भन्दै पदबाट हटाइनु प्रतिनिधिमाथिको अपमान हो।”
बिष्टले पार्टीको निर्णय सञ्चारमाध्यममार्फत थाहा पाएको भन्दै प्रदेश निर्वाचन आयुक्तसमेत रहेका आफूलाई जानकारीसमेत नदिइएको गुनासो गरे। निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि त्यसलाई बदर गर्नु उचित नभएको उनको भनाइ थियो।
“कसैलाई खुसी बनाउन उजुरीका आधारमा निर्णय गरेर हामी पार्टीलाई एमाले र कांग्रेसजस्तै बनाउन दिन्नौँ,” उनले भने, “केन्द्रले विवेकपूर्ण निर्णय गर्न चाहेको भए छानबिन समिति गठन गर्न सक्थ्यो।”
उनले केन्द्रले विधि र प्रक्रिया मिचेर दोष आफूहरूमाथि थोपर्ने प्रयास गरेको आरोपसमेत लगाए।
कैलाली–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगतप्रसाद जोशी ले पनि जिल्ला अधिवेशन बदर गर्ने निर्णय गलत भएको बताए। मतदान प्रक्रियामा आफू रातिसम्म सहभागी रहेको उल्लेख गर्दै उनले कसैको असन्तुष्टिका आधारमा निर्वाचन परिणाम बदर गर्न नहुने धारणा राखे।
जोशीले कुनै व्यक्तिविशेषको प्रभावमा नपरी पार्टीलाई नीति, विधि र प्रक्रियाअनुसार अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए।
नेता लक्ष्मण थारु ले पनि कैलाली अधिवेशन बदर गर्ने निर्णय सुन्दा आफू अचम्मित भएको प्रतिक्रिया दिए। निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न नभए पनि विधिसम्मत रूपमा सम्पन्न भएको अधिवेशन बदर गर्नु केन्द्रको गलत निर्णय भएको भन्दै त्यसलाई सच्याउन माग गरे।
उनले प्रदेश महाधिवेशनमा सभापति र उपसभापति फरक–फरक लिङ्गका हुनुपर्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत दिए।
महाधिवेशनको उद्घाटन सत्रलाई प्रतिनिधिसभा सदस्य तथा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गरेका थिए।

