


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २७ महिलालाई फर्काइएको छ ।
बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो ।
त्यसपछि २७ महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो । अहिले ती महिलामाथि सोधपुछ गरेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
‘हामीले सोधपुछका लागि नियन्त्रणका लिएका महिला आफैं पीडित हुन् । उनीहरूलाई फकाएर, झुक्याएर कसले विदेश लैजान लागेको हो भन्नेबारे अनुसन्धान गर्दैछौं,’ उनले भने ।
अहिलेसम्मको प्रारम्भिक अनुसन्धानको क्रममा ओमन जाने भनेर ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागेको पाइएको छ । यसरी लैजाने गिरोहबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

