
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे ।
सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि काँग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै आपत्ति जनाए ।
‘लम्कीचुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आईरहँदा त्यहाँ गालीबेइज्जत भइरहन्छ, आइरहन्छ । तर यो संचालनका लागि प्रतिपक्ष बेञ्चमा बसेको नेपाली काँग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद खनालले भने, ‘यहाँ सदनमा तपाईंहरू पटक पटक सरकारले यो गरेन, त्यो गरेन आफूह बेन्चमाथि उठनु हुन्छ, तर तपाईकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्की चुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईहरूले कहिले सदनमा बोल्नु हुन्छ । तपाईहरू सधै सरकारले यो गरेन, उ गरेन भन्नु हुन्छ । तपाईहरूको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली कांग्रेस ?’
संघीय संसदमा आदर्शका कुरा गर्ने कांग्रेस सांसदहरूले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो पनि सांसद खनालले गरे ।
‘एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन । प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ । तर बनिरहेको छैन । अनि यहाँ चाँही उहाँहरू आर्दशको कुरा गर्नुहुन्छ । म यहाँबाट नेपाली कांग्रेस खोज्न चाहन्छु– कांग्रेस कहाँ छ ? त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रका कर्मचारीहरू पनि काँग्रेसबाट पीडित छन । त्यहाँको स्थानीय सरकारबाट पीडित छन्,’ उनले भने ।

