
गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया हुमकला भण्डारी रहेकी छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार गएराति करिब १:३० बजे करेन्ट लागेर गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए। सोही पासोमा परी हुमकला भण्डारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

