कैलालीमा विद्यालयबाट हराएकी बालिका खोलामा मृत भेटिइन्

cp new add
Nisharg hospital

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया मनिषा बिक मृत अवस्थामा फेला परेकी छन्। बुधबार बिहान करिब १०:४५ बजे लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोलाको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

Telecome

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी विकास कामीकी छोरी मनिषा जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्। मंगलबार बिहान करिब ७ बजे उनका अभिभावकले उनलाई विद्यालयमा छाडेका थिए।

विद्यालयबाट बालिका सम्पर्कविहीन भएको र घर तथा आफन्तकहाँ पनि नपुगेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी सहायक निरीक्षक जयबहादुर चन्द र प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरी खोजी गरिएको थियो। खोजतलासका क्रममा उनको शव रोरा खोलाको किनारमा फेला परेको हो।

प्रहरीका अनुसार मंगलबार परेको वर्षाका कारण रोरा खोलामा पानीको बहाव बढेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा विद्यालयबाट निस्किएपछि एक्लै घर फर्किने क्रममा खोला तर्ने प्रयास गर्दा उनी बगेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार बालिकाका अभिभावक दैनिक बिहान ११ बजे विद्यालयबाट छोरी लिन जाने गरेका थिए। तर मंगलबार विद्यार्थी संख्या कम भएकाले विद्यालयले करिब १० बजे नै विदा गरेको थियो। अभिभावक भने पूर्वनिर्धारित समयअनुसार ११ बजे विद्यालय पुगेपछि मात्रै बालिका नभेटिएको अवस्था खुलेको थियो।

विद्यालयले निर्धारित समयअघि विद्यार्थी विदा गरेको जानकारी अभिभावकलाई नदिएको विषयलाई लिएर स्थानीयले विद्यालय प्रशासनको भूमिका माथि प्रश्न उठाएका छन्।

यता विद्यालयका प्रधानाध्यापक टंक आचार्यले शिक्षिकाले बालिकालाई निगरानीमा राखेकै अवस्थामा विद्यालयको दक्षिणतर्फको गेटमा ताला लगाउन गएको बेला बालिका निस्किएको दाबी गरेका छन्। उनका अनुसार अर्को गेटबाट बालिका बाहिरिएको थाहा पाउनेबित्तिकै विद्यालयले खोजी सुरु गरेको थियो।

प्रधानाध्यापक आचार्यले अन्य विद्यार्थीलाई घरसम्म पुर्‍याउने व्यवस्था गरिएको र मनिषालाई पनि घरसम्म पुर्‍याउने तयारी भइरहेकाले अभिभावकलाई तत्काल जानकारी दिन नसकिएको बताएका छन्।

घटनापछि विद्यालयको सुरक्षा व्यवस्था, विद्यार्थी विदा गर्ने प्रक्रिया तथा अभिभावकसँगको समन्वयबारे गम्भीर प्रश्न उठेका छन्। घटनाको यथार्थ कारण र सम्भावित जिम्मेवारीबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...