
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन् । आज संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काको निवासमा बसेको उक्त समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको बताएका हुन् ।

कांग्रेसको १५ औं महाधिवेशनमा सबै सहभागी हुने विषयमा के कुराले अड्काइरहेको छ ? भन्ने प्रश्नमा उनले भने, ‘जो अहिले विशेष महाधिवेशनबाट सहभागी हुनु भएको छ । सबै कुरा उहाँको हातमा छ । उहाँहरू चटके हो । खराब औषधि विक्री गर्न रत्नपार्कका चटकेहरूले केके बोल्छन् नि त्यस्तै हो ।’
उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गरेर इतर समूहका नेताहरूलाई भेट्दै नभेटी आफ्नो हिसाबले बाहिर प्रचार गर्ने काम गरिरहेको टिप्पणी गरे ।
‘नेताहरूसँग आएर एउटा भन्नुहुन्छ बाहिर अर्को भन्नुहुन्छ,’ गगन-विश्वलाई लक्षित गर्दै भने, ‘त्यो भन्दा पनि अर्को कुरा उहाँहरूले भेटेकै हुन्न । भेटेर आएको भन्नुनुहुन्,छ हल्ला गर्नुहुन्छ, प्रचार गर्नुहुन्छ लेखाइदिनुहुन्छ । यसरी नै चल्छ भन्ने ठान्नु भएको छ। यो समस्या समाधानको उपाए होइन ।’
बस्नेतले लामो समयदेखि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गगन-विश्वले भेट नगरेको बताए ।
उनले छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे । त्यस्तै उनले इतर समूहले राष्ट्रिय भेलाको तयारी गरिरहेको र मितिको विषयमा छलफल जारी रहेको बताए ।

