
धनगढी । बैतडीमा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १९ पुगेको छ ।

धनगढीबाट छुटेको सुदूरपश्चिम यातायातको बस बैतडीको पाटन नगरपालिका–९ गैराखानमा दुर्घटना हुँदा घाइते भएकाहरुको परिचय खुलेको प्रहरीले जनाएको छ ।
उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । सुपप्र०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गमा गुडिरहेको गैराखानमा सडकबाट शुक्रबार दिउँसो एक्कासी तल खसेको थियो । घटनापछि नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेर घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएको छ ।
प्रहरीकाअनुसार घाइतेहरुलाई डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस पाटन नगरपालिका–३ बस्ने २५ वर्षीय दिनेश भाटले चलाइरहेका थिए ।
उनीसहितका अन्य यात्रु घाइते भएका हुन् । घाइतेहरुको परिचय खुलेको छ । घाइते हुनेमा २५ वर्षीय दुरा बोहरा, पाटन –६ बस्ने जनक प्रसाद पन्त, ११ वर्षीया सिद्धार्थ भण्डारी, मोहन पन्त,दशरथचन्द नगरपालिका–४ का सागर ठगुन्ना, निर्मला कार्की, दशरथचन्द–२ का नरेश लावड, दशरथचन्द–६ की धाना पहरी, दशरथचन्द–९ का जनकराज जोशी, रमेश महर, १४ वर्षीय अरुण महर, सुर्नया गाउँपालिका–२ का पुष्कर बिष्ट, माया बिष्ट, पुर्चौडी नगरपालिका–८ की रतना भण्डारी, पुर्चौडी–१ की अनुग्रा भण्डारी रहेका छन् ।
यस्तै डडेल्धुरा घरभएकी दिपा महरा पनि दुर्घटनामा घाइते भएकी हुन् । यसैगरी दुर्घटनमा परी गम्भीर घाइते भएका दुई जनाकोे परिचय खुल्न भने बाँकी रहेको छ ।

