
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा सभापति तथा पर्सा– १ बाट निर्वाचित सांसद हरि पन्तले सदनमा राखेको विषयवस्तु सरकारसम्म नपुगेको गुनासो पोखेका छन् । प्रतिनिधिसभामा सोमबार बोल्दै पन्तले गम्भीर विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

खासगरी वीरगन्जमा आसपासमा खुलेका पाँच तारे होटलका क्यासिनोमा नेपालीलाई सहजै प्रवेश दिँदा स्थानीयहरूको व्यापार व्यवसाय चौपट भएको उनले गुनासो पोखे । क्यासिनोमा नेपालीहरूको प्रवेशमा रोक लगाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेका छन् ।
‘सदनमा राखेको विषयवस्तु संसद्को चार दिवारभन्दा बाहिर गएर सरकार समक्ष पुग्न सकिरहेको महसुस हामी जनप्रतिनिधिहरूले गर्न सकिरहेको छैनौँ । यस गम्भीर विषयमा सम्माननीय सभामुखको ध्यान आकृष्ट गराउन चाहेँ । वीरगन्जका प्रायः सबै तारे होटेलमा क्यासिनो खोलिएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट घुम्न आउने पर्यटकहरूलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन गर्नका निम्ति खोलिएका ती क्यासिनोमा त्यहाँका प्रहरी र प्रशासनको मिलेमतोमा खुलेयाम रूपमा नेपालीलाई पनि सहजै प्रवेश गराइराखेको भन्ने स्थानीयहरूको व्यापक गुनासो छ’, उनले भने-‘क्यासिनोमा सहजै प्रवेश पाउँदा कुलतमा वीरगन्ज वरिपरिका व्यापारी घरनादेखि भर्खरै व्यवसायमा हात हालेका युवा उद्यमीसम्म प्रभावित भएका छन् ।
मध्यम परिवारदेखि विभिन्न पेसामा संलग्न पेसाकर्मीसम्म जायजेथा क्यासिनोमा हारेर बिल्लिबाठ भएका छन् । कुलतमा परेर सामाजिक र पारिवारिक सम्बन्ध बिग्रिन गई क्षत विक्षत भएको अवस्था छ । सरकार र पर्साका स्थानीय प्रशासनले क्यासिनोमा नेपाली प्रवेशलाई पूर्ण रूपमा रोक लगाउन र दोषीदेखि त्यहाँ प्रहरी प्रशासनलाई पनि कारबाही गर्न जोडदार माग गर्दछु ।’

