
काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ।
राति पनि देशभर बदली कायमै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश, कर्णालीका पहाडी क्षेत्र र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
मौसमविद्ले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–खोला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

