
ट्याक्सी चालकलाई लठ्याउने औषधि खुवाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न अर्का एक जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीका ट्याक्सी चालक सन्तोष शाहीलाई फ्रुटीमा लठ्याउने औषधि मिसाएर खुवाई बेहोस बनाएर लुटपाट गर्ने स्याङ्जा वालिङ नगरपालिका–८ का नेत्रकुमार सुनार लोहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुनारसहित दुई जनाले शाहीलाई कपिलवस्तुको गोरुसिंगेमा बेहोस् बनाएर सुनका गरगहना, नगद र मोबाइल लुटेको प्रहरीले जनाएको छ । घटनाअनुसार गत २९ असारमा अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैंचाबाट उनीहरूले गोरुसिङ्गेसम्म जानुपर्ने भन्दै सन्तोषको ट्याक्सी रिजर्भ गरेका थिए । यात्राका क्रममा गोरुसिङ्गे पुगेपछि अत्यधिक गर्मी भएको भन्दै उनीहरूले चालकलाई फ्रुटी किनेर दिएका थिए । सोही फ्रुटीमा लठ्याउने औषधि मिसाएर खुवाई लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
फ्रुटी सेवन गरेलगत्तै चालक शाही अचेत भएपछि उनीमाथि लुटपाट गरिएको थियो । लुटेराहरूले उनको करिब दुई तोलाको सुनको सिक्री, हातमा लगाएको औँठी, स्मार्टफोन तथा ट्याक्सीभित्र रहेको करिब ८ हजार रुपैयाँ नगद लुटेर फरार भएका थिए । अचेत अवस्थामा रहेका चालकलाई पछि उद्धार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले विशेष टोली परिचालन गर्दै विभिन्न जिल्लामा खोजी गरेको थियो । अनुसन्धानकै क्रममा आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालय वालिङको सहयोगमा वालिङ नगरपालिका–८ निवासी सुनारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
पक्राउ परेका सुनारलाई अर्घाखाँची जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिवसबहादुर जीसीले बताए ।
प्रारम्भिक अनुसन्धानले पक्राउ परेका नेत्रकुमार सुनारको आपराधिक पृष्ठभूमि समेत उजागर गरेको छ । प्रहरीका अनुसार उनले यसअघि २०५४ सालमा कर्तव्य ज्यान मुद्दामा तनहुँ कारागारमा १० वर्ष कैद सजाय भोगिसकेका छन् । त्यसपछि जबरजस्ती करणी मुद्दामा चितवन कारागारमा पाँच वर्ष कैद सजाय भोगेको खुलेको छ ।

