
काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् ।

उनले केन्द्रीय मन्त्री जे।पी। नड्डा र डा। जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन् ।
उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो ।
यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
उनले एक्समा लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु ।’
मेडिकल शिक्षा सम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् । यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए ।

