
पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना विद्यार्थीसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य धेरै घाइते भएका छन्।

ट्राफिक तथा सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराका अनुसार राजधानी कम्पालास्थित किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटनामा परेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि सिपी फल्स गएका थिए। भ्रमणबाट फर्किने क्रममा चालकले बसको नियन्त्रण गुमाउँदा बस सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुंगामा ठोक्किएको थियो।
दुर्घटनामा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ।

