
धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक १७ वर्षीय किशोर पनि रहेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट स्थानीय २९ वर्षीय सबिन रावललाई २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो। लागूऔषध सेवन गरी हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शनिबार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट २ ग्राम ६७१ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी–८ का १७ वर्षीय किशोर र गौरीगंगा नगरपालिका–१ घर भई हाल धनगढी–७ मा डेरा गरी बस्ने २५ वर्षीय मायाराम चौधरी रहेका छन्। शंकास्पद अवस्थामा भेटिएपछि चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, शनिबार राति धनगढी उपमहानगरपालिका–७ मोती चोकबाट कैलारी गाउँपालिका–४ का २५ वर्षीय अर्जुन चौधरीलाई १९८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
तीनै घटनामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

