
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।

साउन २७ गते लेखा समितिको बैठकमा आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफप्रति आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले बताएका हुन्।
शुक्रबार संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘दिस इज नट राइट, दिस इज नट गुड ।’ गुरुङले कुनै व्यक्तिमाथि उजुरी परेको भरमा आफूहरू न्यायाधीश बन्न नहुने र आरोप लाग्दैमा चरित्र हत्या गर्न नमिल्ने बताए।
‘प्रहरी प्रमुखज्यूहरूलाई जसरी समितिमा प्रस्तुत गरियो, त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ। उजुरीको भरमा हामी न्यायाधीश बन्न पाइँदैन,’ उनले भने। उनले सार्वजनिक लेखा समितिको तुलनामा कानुन, न्याय तथा मानव अधिकार समिति आफूलाई भद्र लागेको टिप्पणीसमेत गरे।
‘आरोप लाग्दैमा चरित्र हत्या गर्न पाइँदैन। आईजी सावहरूले गरेको कामको म प्रत्यक्षदर्शी छु। उहाँहरूले दिनरात काम गर्नुभएको छ,’ गुरुङले भने।

