
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले उपनेता सन्तोश शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकले शर्मासहित सरकारमा चक्रबहादुुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बमलाई पठाउने निर्णय गरिएको जनाएको छ ।
एक प्रदेश सांसदकाअनुसार एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रीमा मल्ल, सामाजिक विकास मन्त्रालयमा शर्मा र भूमी व्यवस्था कृषि तथा सहकारी वा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भण्डारीलाई दिनेछ ।
बमलाई भने राज्यमन्त्री बनाउने तयारी छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार बिहान नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्रीमा नियुुक्त गरेका छन् ।
भट्टको दिउँसो ३ बजे सपथ ग्रहण तय गरिएको छ । मुख्यमन्त्रीको सपथ ग्रहण लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ । एमालेले मन्त्रीको टुंगो लगाएपनि नेकपामा भने छलफल जारी रहेको जनाइएको छ ।

