
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइपछि न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन्।

मुद्दामा सरकारी पक्षबाट चार जना र श्रेष्ठको पक्षबाट १७ जना कानुन व्यवसायीले बहस गरेका थिए।
बहसका क्रममा श्रेष्ठका वकिलहरूले उजुरीकर्ता महिलाले आफैं सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर सञ्चारमाध्यमले प्रकाशित गर्दा कसरी व्यक्तिगत गोपनीयता उल्लंघन भयो भन्ने प्रश्न उठाएका थिए। उक्त तस्बिरमा ती महिला राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदसँग चुम्बन गरिरहेको देखिएको दाबी गरिएको छ।
इजलासले समेत सरकारी वकिलसँग यही विषयमा प्रश्न गरेको थियो। जवाफमा सरकारी वकिलले व्यक्तिले आफ्नो फेसबुकमा तस्बिर राखेको भए पनि सञ्चारमाध्यमले त्यसलाई पुनः प्रकाशित गर्न नमिल्ने तर्क गरेका थिए।
इजलासमा पत्रकार श्रेष्ठले पनि आफ्नो भनाइ राखेका थिए। उनले आफूविरुद्ध पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइएको दाबी गरे। हिरासतमा लागुऔषध मुद्दाका अभियुक्तहरूसँगै राखेर आफूलाई मानसिक यातना दिइएको उनको गुनासो थियो।
श्रेष्ठले आफूलाई ५५ जना लागुऔषध अभियुक्तसँगै राखिएको र पाँच दिनदेखि राति राम्रोसँग सुत्न नसकेको बताएका थिए। परिवारका सदस्य र कानुन व्यवसायीसँग समेत छुट्टै भेट्न नदिइएको उनले इजलाससमक्ष बताएका थिए।
आफ्नो भनाइ राख्ने क्रममा श्रेष्ठ पटक–पटक भावुक बनेका थिए। अब इजलासले मुद्दामा फैसला सुनाउने तयारी गरेको छ।

