
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले मन्त्रीको टुंगो लगाउन नसकेपछि फेरि केन्द्रीय कमिटीलाई गुहारेको छ ।

मापदण्ड बनाएर सरकारमा सहभागी हुने प्रदेश सभा सदस्यबारे निर्णय गर्न नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
तर, आकांक्षी धेरै हुँदा कार्यदलले मन्त्रीबारे निर्णय गर्न सकेन । बिहीबार बसेको कार्यदलको बैठकले आकांक्षीका नाम पार्टी केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज जोशीले जानकारी दिए ।
‘मन्त्रीका लागि आकांक्षी माननीयको संख्या बढि हुँदा हामीले कार्यदलबाट निर्णय दिन सकेनौँ,’ जोशीले भने, ‘आकांक्षा राखेका साथीहरुको नाम केन्द्रमा सिफारिस गरेका छौँ । केन्द्रबाट नाम टुंगो लागेपछि प्रदेश सरकार विस्तार हुन्छ ।’
स्रोतकाअनुसार कार्यदलले १२ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । साविक एकीकृत समाजवादीका दुई, नागरिक उन्मुुक्ति पार्टीका ३ र माओवादी केन्द्रका ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
जसअनुसार क्रमशः तत्कालीन एकीकृत समाजवादीका प्रकाश रावल र नरेश शाही, नागरिक उन्मुक्ति पार्टीका खुसीराम चौधरी, कैलाश चौधरी र इन्दिरा गिरीको नाम केन्द्र पठाइएको छ ।
यस्तै, तत्कालीन माओवादी केन्द्रका मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट, झपट साउद, शिवसिंह ओली, जानकी पौडेल र लक्ष्मी विकको नाम पठाइएको स्रोत बताउँछ ।
२९ साउनमा एमालेको समर्थनमा खगराज भट्ट सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्रीमा नियुुक्त भएका थिए । सोही दिन उनले एमालेका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए भने बुधबार विश्वासको मत लिएका थिए । तर, नेकपाभित्र भने मन्त्रीको टुंगो लगाउन सकस हुँदा सरकार विस्तारमा केही ढिलाइ भइरहको छ ।
अब केन्द्रबाट तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम आएपछि मुख्यमन्त्री भट्टले सरकार विस्तार गर्नेछन् ।

