सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्छौं, अबिर–खादा लगाउन हतार नगर्नुस् : मन्त्री रावल

cp new add
Nisharg hospital

काठमाडौं । सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई त्रासमा नबस्न आग्रह गर्दै कानुनसम्मत रूपमा लालपुर्जा पाउने अधिकार भएकालाई सरकारले लालपुर्जा उपलब्ध गराउने बताएकी छन् ।

Nast Ad

कञ्चनपुरमा सुकुम्बासी समस्या समाधानका विषयमा सम्बन्धित समुदायसँगको भेटमा मन्त्री रावलले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानबाट आफूहरूलाई हटाइने, डोजर चलाइने वा विस्थापित गरिने हो कि भन्ने त्रासमा नबस्न आग्रह गरेकी हुन् । ‘हजुरहरू एउटा कुरामा ढुक्क हुनुस् भने, जसले लालपुर्जा पाउनुपर्ने हो, कानुनसम्मत तरिकाले उसले लालपुर्जा पाउँछ,’ उनले भनिन्, ‘भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन अव्यवस्थित बसोबासी सबैले लालपुर्जा पाउनुहुन्छ । यो कुरामा ढुक्क हुनुहोस् ।’

मन्त्री रावलले सुकुम्बासी समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउँदै देशभरको समस्या ५०० दिनभित्र समाधान गर्ने लक्ष्य सरकारको रहेको जानकारी दिइन् । उनले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै देशभरका भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि काम गरिरहेको दाबी गरिन् । यसका लागि महिला समिति, जिल्ला समिति र भूमि समस्या समाधान समितिले समेत काम गरिरहेको उनले बताइन् ।

रावलले सुकुम्बासीको समस्या जटिल र संवेदनशील रहेको भन्दै सबै ठाउँमा एउटै प्रकृतिको समस्या नरहेको उल्लेख गरिन् । कतिपय स्थानमा कानुनी अड्चन रहेकाले विभिन्न प्रकृतिका समस्यालाई फरक–फरक ढंगले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । ‘विषय जटिल छ, संवेदनशील छ । कतिपय कानुनी अड्चन छन् । एउटै खालको समस्या छैन, विभिन्न खालका समस्याहरू छन्,’ उनले भनिन्, ‘विभिन्न खालका समस्यालाई विभिन्न तरिकाले समाधान गर्नुपर्ने आवश्यकता छ । त्यसैले अलिकति समय लाग्छ ।’

मन्त्री रावलले सुकुम्बासी बस्तीमा आउने मन्त्री तथा नेताहरूलाई अबिर र खादा लगाएर सम्मान गर्न हतार नगर्न आग्रहसमेत गरिन् । उनले समस्या समाधान गरेर आएपछि मात्रै नेताहरूले सम्मान पाउन योग्य हुने बताइन् । ‘तपाईँहरूकोमा जति पनि मन्त्री, जति पनि नेताहरू आउनुहुन्छ, अबिर, खादा लगाइदिन हतार नगर्नुस् । उहाँहरूलाई सम्मान दिन हतार नगर्नुस्,’ उनले भनिन्, ‘समस्या समाधान गरेर आएपछि म तपाईँहरूको अबिर खादा लगाउँछु ।’ रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आए पनि समस्या समाधान नभएसम्म सम्मान गर्न हतार नगर्न आग्रह गरिन् ।

‘पहिला तपाईँहरूको यत्रो वर्षौँदेखि भोगिरहेको समस्याको समाधान हुनुपर्छ । त्यसपछि बल्ल त्यो नेताले, त्यो मन्त्रीले तपाईँहरूले दिएको खादा, अबिर र फूल डिजर्भ गर्छ,’ उनले भनिन् । उनले आफूले समस्या समाधान भएको दिन पुनः समुदायमा आउने र त्यतिबेला मात्रै अबिर–खादा लगाउने बताइन् । मन्त्री रावलले कतिपय सुकुम्बासीले भोगचलन गरिरहेको जग्गा नकारात्मक सूचीमा परेको हुन सक्ने भन्दै त्यस्ता समस्या समाधानका लागि कानुन र नीतिगत सुधारको विषयमा सरकारले काम गरिरहेको बताइन् ।

‘तपाईँहरूले बसेको जग्गा कहिलेकाहीँ नकारात्मक सूचीमा परेको हुन सक्छ । त्यसको हकमा पनि कुन कानुन ल्याएर, कुन नीति परिवर्तन गरेर सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार काम गरिरहेको छ,’ उनले भनिन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...