धनगढीकाे टाटा माेटर्सकाे बदमासी : फाइनान्समा बेचिएकाे गाडी ७ महिनादेखि कब्जामा, नियमित किस्ता हाल्दा पनि पूरा रकम बुझाएर गाडी लैजान थ्रेट


धनगढी । धनगढीकाे बाेराडाँडीमा रहेकाे टाटा माेटर्सले किस्तामा बिक्री गरिएको गाडी नियमित रकम बुझाउँदा पनि जफत गरेकाे पाइएको छ ।

माेटर्सले कैलारीका नरेश चाैधरीलाई २०८१ सालमा पाँच वर्षकाे फाइनान्समा बागमती प्रदेश ०१०२८ च ९६८१ नम्बरको कार बिक्री गरेकाे थियाे । चाैधरीले २०८१ कार्तिकदेखि मासिक रूपमा ५८ हजार किस्ता वाफतकाे रकम तिर्दै आएका थिए ।
गत फागुनमा कार दुर्घटनामा परेपछि चाैधरीले मर्मतका लागि शाेरूममा लगेका थिए । तर, शाेरूमका सञ्चालक अशाेक पाण्डे र म्यानेजर करिना अन्सारीले मर्मतका लागि हालेकाे कार नदिएर उल्टै चाैधरीलाई धाकधम्की दिने गरेकाे खुलेकाे हाे ।
७ महिनादेखि गाडी शाेरूमले नियन्त्रणमा राखेपनि चाैधरीले नियमित रूपमा मासिक किस्ता वाफतकाे रकम बुझाउदै आएकाे पाइएकाे छ ।उनले गत असारसम्म आठ लाख ८८ हजार शाेरूमलाई तिरिसकेका छन् ।
तर, सञ्चालक पाण्डे र म्यानेजर अन्सारीले चाैधरीलाई सम्झाैता विपरीत नियमित किस्ताकाे सट्टा पूरा रकम तिरेर मात्र गाडी लैजान दबाब दिइरहेका थिए ।
चाैधरीले नियमसम्मत रूपमा किस्ता बुझाउँछु भन्दा पनि उनले विभिन्न धाकधम्की दिदै जे गर्नुछ गर भन्ने गरेकाे उनी बताउँछन् ।
चाैधरीका भनाइमा उनी आफू सीडीओ, एसपी लगायतका सुरक्षा निकायलाई हातमा राखेकाे दाबी गर्दै धम्की दिने गरेका थिए ।
पटक-पटक आग्रह गर्दा पनि शाेरूमले गाडी नदिएपछि बुधबार केही सञ्चारकर्मीसहित चाैधरी त्यहाँ पुगेका थिए ।
तर, उनले उल्टै सञ्चारकर्मीमाथि तपाईंहरू असुली गर्न आएकाे हाे भन्दै धम्क्याएका थिए ।
उनले चाैधरीलाई सहजीकरण गर्न पुगका व्यक्तिहरूमाथि समेत दुर्ववहार गरिएको बताए ।सञ्चारकर्मीले असुली गर्न नभएर दुई पक्षबीचकाे समस्याबारे बुझ्न आएकाे बताएपछि माफी माग्दै पाण्डेले चाैधरीले गाडी दुर्घटना गरेपछि शाेरूममै राखिएको स्वीकार गरे तर यसबारे थप प्रतिक्रिया नदिने बताए ।
उनकी म्यानेजर अन्सारीले भने, चाैधरी दुर्घटना पछि मात्र शाेरूमकाे सम्पर्कमा आएकाे बताइन् ।
सञ्चालक पाण्डेकाे नाममा गाडी रहेकाे र चाैधरीसँग लाइसेन्स समेत नभएका कारण पूरा रकम बुझाएर मात्र गाडी लैजान भनिएकाे दाबी गरिन् ।
चाैधरीले फाइनान्स वाफतकाे मासिक रकम पनि समयमै नहाल्ने गरेकाे दाबी गरेकी छन् ।
तर गाडी धनी चाैधरीले भने ७ महिनादेखि शाेरूमले गाडी गायब पारेकाे बताउँदै बिक्री गरिएको वा भाडामा लगाएकाे हुनसक्ने आशंका गरेका छन् ।
यसैबीच, टाटा शाेरूमबाट गाडी खरिद गरेका कैलारी गाउँपालिका-५ का नरेश चाैधरीले सञ्चालक अशाेक पाण्डेले धामधम्की दिने गरेकाे भन्दै कारवाहीकाे माग गर्दै कैलाली प्रहरीमा कारवाहीकाे माग गर्दै उजुरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले चाैधरीकाे निवेदन प्राप्त भएकाे बताउँदै त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
