
काठमाण्डौँ । पूर्वी नवलपरासी- भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी किनारमा बगेर आएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ ।
स्थायी र अस्थायी शव गृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार वैज्ञानिक व्यवस्थापन सुरु गरिएको हो । मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवमध्ये डीएनए परीक्षणको नमुना संकलन, संकेत नम्बर राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि २० वटा शव आइतबार व्यवस्थापन गरिएको छ ।
कावासोती नगरपालिका–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रहने र पछि पहिचान भएमा परिवारलाई जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रसुवा लगायतका क्षेत्रमा आएको बाढी पहिरोपछि उद्धार तथा खोजीका क्रममा फेला परेका शव गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिचान तथा डीएनए परीक्षण भइरहेको छ ।
गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नदी किनारमा हालसम्म १ सय ९४ शव फेला परेका छन् । तीमध्ये ९ वटा शवको पहिचान भएर आफन्तलाई बुझाइएको छ ।

