
धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन जना किशोर समेत रहेका छन्।
कैलालीको टीकापुर नगरपालिका–३ शकरपुरबाट खैरो हिरोइन जस्तो देखिने ८१० मिलिग्राम धुलो पदार्थसहित दुई जना १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै, टीकापुर नगरपालिका–१ समितिपुरबाट खैरो हिरोइन जस्तो देखिने ९१० मिलिग्राम पदार्थसहित १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टरबाट ६ ग्राम ५७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित कैलाली गोदावरी नगरपालिका–४ का २७ वर्षीय प्रभाष मल्ल र डोटी जोरायल गाउँपालिका–१ का २६ वर्षीय विक्रम पातली पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको से ६ प १५४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही स्थानबाट नियन्त्रित लागूऔषध इस्पास ४० ट्याब्लेटसहित धनगढी उपमहानगरपालिका–१२ का २२ वर्षीय दीपक बहादुर चन्द पनि पक्राउ परेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

