धनगढीमा १० वर्षीया बालकको हत्या : छिमेकीमाथि पनि अनुसन्धान गर्न माग

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा १० वर्षीय तनुज चौधरीको हत्या भएको घटनामा मृतकका परिवारले छिमेकी दिलखुस चौधरी र उनका नाबालक छोरालाई समेत अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन्।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीको सफल अनुसन्धानपछि मुख्य अभियुक्तका रूपमा पुर्पक्षका लागि कारागार चलान भइसकेका खेमराज कठायतसँगै दिलखुस र उनका छोराको पनि घटनामा भूमिका रहेको दाबी गरेको हो।

मृतकका बुवा मिनराज चौधरीले खेमराज र दिलखुसबीच पहिलेदेखि नै उठबस तथा घरमा आउजाउ हुने गरेको दाबी गर्दै घटना भएको दिन दिलखुसले आफ्नै छोरामार्फत तनुजलाई फकाएर गौरीगंगा नगरपालिका–६, को मोया पु¥याएको बताएका छन् ।

मिनराजका अनुसार त्यसपछि दिलखुसकै योजनामा उनका छोरामार्फत तनुजको हत्या भएको आशंका छ । यद्यपि, घटना भएको बेला गाउँकै व्यक्तिले यस्तो अपराध गर्न सक्ने विश्वास नलागेकाले आफूहरूले दिलखुसविरुद्ध किटानी जाहेरी नदिएको उनको भनाइ छ।

मृतककी हजुरआमा अनितादेवी चौधरीले पनि तनुजको हत्यामा खेमराजसँगै दिलखुस र उनका छोराको भूमिकाबारे छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरेकी छन्।

प्रहरीले यसअघि दिलखुस चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। तर मृतकका परिवारबाट उनीविरुद्ध किटानी जाहेरी नपरेको तथा हत्यामा संलग्न भएको पुष्टि हुने पर्याप्त प्रमाण फेला नपरेपछि उनीहरूलाई छाडिएको थियो।

यसैबीच, घटनाका मुख्य अभियुक्तका रूपमा प्रहरीले गौरीगंगा–६ का २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायतलाई भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट पक्राउ गरेको थियो। उनी गत साउनमै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

तनुज १० असारमा घरबाट बेपत्ता भएका थिए। त्यसको दुई दिनपछि धनगढी र गौरीगंगाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र उनको शव फेला परेको थियो। घटनास्थलमा उनको साइकल, चप्पल, कालो प्लास्टिकको झिल्ली तथा गंगटाका अवशेष भेटिएका थिए।

प्रहरीले तनुजले लगाएको सुनको मुन्द्रा नभेटिएपछि लुटपाटको उद्देश्यले हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो। उनको कानको मुन्द्रा प्रहरीले पछि मुख्य अभियुक्त कठायतले घरमा लुकाएको अवस्थामा बरामद गरेको थियो ।

परिवारले भने मुख्य अभियुक्त पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भइसके पनि घटनामा अन्य व्यक्तिको भूमिका रहे÷नरहेको विषयमा पुनः गहिरो अनुसन्धान हुनुपर्ने माग गरेको छ।

१० असारमा घरबाट हराएका तनुज १२ असारमा स्थानीय कालिका सामुुदायिक वनभित्र हत्या गरेको अवस्थामा मृत भेटिएका थिए । घटना लगत्तै फरार भएका मुख्य अभियुक्त कठायतलाई २२ असारमा पक्राउ गरेर कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...