झुमाको संघर्षको कथा : बालबिवाहले बाल्यकाल खोस्यो, आत्मनिर्भरताले आत्मबिश्वास फर्कायो

cp new add
Nisharg hospital
  • रामहरी ओझा

डोटी । ‘कक्षा–४ मा पढ्दै थिएँ, उमेर १३ वर्ष मात्रै भएको थियो । बिवाह के हो भन्ने थाहै थिएन, घर परिवारले बिवाह गराई दियो । बिवाहपछि मेरो बाल्यकालका सवै रहरमाथी अर्को अंकुश लाग्दै गयो ।’

डोटीको दिपायल सिलगढी नगरपालिकाकी झुमादेवी साउँद (नाम परिवर्तन) उमेरले ३१ बर्षकी भईन् । आफ्नो बाल्यकालदेखि बयस्क अवस्थामा आइपुग्दासम्म झुमाको जीवनमा निकै उतारचढाव आयो । पारिवारिक अवस्था कमजोर भएका कारण उनका आमाबुवाले कलिलै उमेरमा उनको बिहे गराईदिए । बिवाहपछि उनको पढाई मात्रै रोकिएन, उनको हासो, खुशी, सपना, चहाना सवै रोकिए ।

‘बिवाहपछि शारीरिक र मानसिक रूपले परिपक्व नहुँदै आमा बने’ झुमा भन्छिन् ‘हाम्रा दुई छोरी जन्मिएपछि श्रीमानले अर्को विवाह गरे, त्यतिबेला कान्छी छोरीलाई एक बर्षमात्रै भएको थियो ।।’ अर्को बिवाह गरेर रोजगारीका लागि विदेश त गए तर झुमालाई उनले सहयोग गर्न छोडे । भौतिक र भावनात्मक रुपमा श्रीमान् टाढिएपछि झुमाको काँधमा आफुसंगै सासु–सुसुरा र दुई छोरीको जिम्मेवारी आयो । एकातिर जिम्मेवारीको बोझ, अर्कोतिर घरेलु हिंसा, झुमालाई खपिनसक्नु पीडा भयो । आफुलाई श्रीमान तथा परिवारबाट बाट शारीरिक, मानसिक पीडा दिने, अपमान गर्ने, घरबाट निकालिदिने धम्की दिने जस्ता हिंसा भएको उनी वताउँछिन् ।

झुमाका लागि समुदायको व्यवहार पनि सहज थिएन । कसैले उनीप्रति गलत नियत राखे, कसैले पुनः विवाह गर्न दबाब दिए । आफन्तबाट समेत घर छाडेर अर्को विवाह गर्न सुझाव आयो । तर झुमाले हार मानिनन् । उनी आफुले भोगेको पीडा छोरीहरूले भोग्नु नपरोस् भन्ने चाहान्थिन् ।

झुमाको पाईला : अँध्यारोबाट उज्यालोतर्फ

शारीरिक र मानसिक पीडा सहनु आफ्नो भाग्यको दोष सम्झिदै आएकी झुमालाई त्यतिबेला थोरै राहतको स्वाव मिल्यो, जव उनले कानुनी उपचारको बाटो थाह पाईन् । दिपायल सिलगढी नगरपालिकाले पिसविन नेपाल नामक गैर सरकारी संस्थाको साझेदारीमा सञ्चालन गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत उनको वडामा ‘पारिवारिक संवाद सत्र’ सञ्चालन ग¥यो । महिला अधिकार र लैङ्गिक हिंसामा परेका महिलाहरुका लागि कानुनी उपचार प्रक्रियाका वारेमा जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको पारिवारिक सम्वाद सत्रबाट उनले लैङ्गिक हिंसाबारे बुझिन् ।

‘साप्ताहिक रुपमा चल्ने उक्त संवादमा म सधैं जान थालेँ, त्यहाँबाट हिंसा भएमा कहाँ जाने रु कानुनी उपचार कसरी खोज्ने रु आफ्नो जीविकोपार्जनका लागि सहयोग जुट्ने ठाउँ कहाँ छन्ने बिषयमा जानकारी पाएँ’ झुमाले भनिन् ‘संवाद सत्रमा सहभागी अन्य महिलाको साथ र प्रोत्साहनले मेरो आत्मविश्वास बढ्यो ।’ त्यसपछि उनमा लामो समयदेखि सहँदै आएको पीडाविरुद्ध बोल्ने साहस पलायो ।

अव उनी न्यायको खोजीमा लागिन् । उनले दिपायल सिलगढी नगरपालिकाको न्यायिक समितिलाई न्यायिक उपचार प्रणाली र जिविको पार्जनका लागि सहयोग मागिन् । पारिवारिक सम्वाद सत्रबाटै उनले दिपायल सिलगढी नगरपालिकाले स्थापना गरेको लैङ्गिक हिंसा रोकथाम कोषबारे थाहा पाइन् । आवश्यक प्रक्रिया पूरा गरेपछि उनले २६ हजार रुपैयाँ आर्थिक सहयोग पाइन् । अव उनको यात्रा बाख्रापालनतर्फ मोडियो ।

हेर्दा सानो लगानी थियो, तर झुमाका लागि त्यो नयाँ जीवनको सुरुवात थियो । बिस्तारै बाख्रापालन उनको आम्दानीको स्रोत बन्न थाल्यो । बाख्रा पालन सुरु गरेको एक बर्षमा उनले २१ हजारमा एउटा बोका बिक्री गरिन् । बिक्रीबाट प्राप्त रकमले उनले परिवार चलाउन पहिले लिएको ऋणको केही हिस्सा तिर्न सकिन् । अचेल उनको जीवनको साहारा बनेको छ बाख्रापालन व्यवसाय ।

बाख्रापालनबाटै आएको आम्दानीले उनी आफ्ना दुई छोरीको पढाई खर्च जुटाइरहेकी छन् । नगरपालिकाले उनका छोरीहरूलाई विद्यालय पोशाँक, झोला, कापी, कलमलगायत शैक्षिक सामग्री पनि उपलब्ध गराएको छ । उनले छोरीहरुका लागि अन्य साझेदार संस्थाबाट पनि सहयोग प्राप्त गरेकी छन् । उनी अहिले पनि आफुले पढन् नपाएको पीडा सुनाउँछिन् । छोरीहरुलाई जसरी पनि राम्रो शिक्षा दिने अठोट छ उनमा ।
‘सानै उमेरमा विवाह भएकाले मैले धेरै दुःख भोगेँ, छोरीहरूले पनि त्यही पीडा नपरोस्’ झुमा भन्छिन् ‘मेरो सपना उनीहरूलाई शिक्षा दिने, आत्मविश्वासी बनाउने र आफ्ना निर्णय आफैँ गर्न सक्ने महिला बनाउने हो ।’ उनका यी शब्दहरुमा एउटी आमाको पीडा मात्र छैनस एउटा पुस्ताले भोगेको पीडा अर्को पुस्तामा दोहोरिन नदिने दृढ सङ्कल्प पनि छ ।

उनी महिला हिंसाको बिषयमा आफूले पाएको जानकारी अरू महिलासँग पनि बाँड्न थालेकी छन् । हिंसा सहेर चुप लागेर बस्नुभन्दा सहयोग खोज्न र आफ्ना अधिकारका लागि आवाज उठाउन उनी अरू महिलालाई प्रेरित गर्छिन् । उनको परिवर्तनले समुदायका अन्य महिलालाई पनि हिंसाको विरोध गर्न, अधिकार दाबी गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।

झुमा साउदको जीवनमा आएको परिवर्तन कुनै चमत्कारको परिणाम होइन । सूचना, सामुदायिक साथ, न्यायमा पहुँच र जीविकोपार्जनको अवसरले उनको जीवनलाई विस्तारै नयाँ बाटोतर्फ डो¥याएको हो । कुनै समय आफ्नो जीवन कुन दिशामा जाँदैछ भन्ने मेसो नपाएकी झुमा अचेल अलि सहज भएको महसुस गर्छिन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...