धनगढीमा बजार अनुगमन, कैफियत भेटिएकालाई पहिलोपटक सचेत

cp new add
Nisharg hospital

धनगढी । दशैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा धनगढी बजारमा हुनसक्ने कालोबजारी, अखाद्य वस्तुको बिक्री तथा उपभोक्ता ठगी नियन्त्रण गर्न बजार अनुगमन सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य तथा आपूर्ति कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त टोलीले धनगढीका विभिन्न किराना पसल र तीनका गोदाममा अनुगमन गरेको हो।

मंगलबार धनगढीको मेनरोडस्थित महाबिर किराना पसल, दक्षिणकाली मार्गस्थित नवल जनरल सप्लायर्स, जय दुर्गे एग्रो प्याकेजिङ र बैयाबेहडीस्थित राघव इम्पेक्समा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा केही पसल तथा गोदाममा सडेगलेका र म्याद नाघेका खाद्यवस्तु बिक्रीका लागि राखिएको पाइएको वाणिज्य तथा आपूर्ति कार्यालयका निमित्त प्रमुख तारामान रावलले जानकारी दिए।

उनका अनुसार महाबिर किराना पसलमा सडेको अवस्थामा रहेको फर्सीको बीउ र बदाम प्याकिङका लागि घाममा सुकाइरहेको अवस्थामा भेटिएको थियो। ती खाद्यवस्तु तत्काल नष्ट गरिएको उनले बताए।

यस्तै, बैयाबेहडीस्थित राघव इम्पेक्समा करिब २७ किलो सडेको दाल फेला परेको थियो। अनुगमन टोलीले उक्त दाल पनि नष्ट गरेको छ।

दक्षिणकाली मार्गस्थित नवल जनरल सप्लायर्समा म्याद गुज्रिएको ज्वानो फेला परेपछि त्यसलाई पनि नष्ट गरिएको रावलले बताए।

अनुगमनका क्रममा केही व्यवसायीले फर्म दर्ताको प्रमाणपत्रसमेत पसलमा नराखेको पाइएको थियो। सामान भण्डारण गरिएका गोदाममा पर्याप्त सरसफाइ नभएको तथा खाद्यवस्तु जथाभावी राखिएको पनि भेटिएको अनुगमन टोलीले जनाएको छ।

पहिलोपटक अनुगमनका क्रममा यस्ता कैफियत भेटिएका व्यवसायीलाई सचेत गराउँदै सुधारका लागि १५ दिनको समय दिइएको छ। उक्त अवधिभित्र कमीकमजोरी सच्याउन निर्देशन दिइएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ।

अनुगमन टोलीले पहिलोपटकका लागि सचेत गराए पनि पुनः उस्तै कमजोरी दोहोरिए कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले कालोबजारी, म्याद गुज्रिएका तथा सडेगलेका खाद्यवस्तुको बिक्री र उपभोक्ता ठगी हुनसक्ने जोखिमलाई ध्यानमा राखेर अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले उपभोक्तालाई खाद्यवस्तु खरिद गर्दा उत्पादन र उपभोग्य मिति, मूल्य, प्याकेजिङ तथा गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ। बजारमा म्याद गुज्रिएका, सडेगलेका वा अखाद्य वस्तु बिक्री भइरहेको भेटिएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नसमेत आग्रह गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...