
धनगढी । कैलालीमा सुपारी दिएर प्रेमीमार्फत श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ परेकी महिलासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत कैलालीका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले लम्कीचुहा नगरपालिका–४ का दीपक सुनारको योजनाबद्ध हत्या गरेको अभियोगमा पक्राउ परेका उनकी श्रीमती यमुना बिक सुनारसहित पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
बिहीबारको थुनछेक आदेशअनुसार यमुनाका प्रेमी दुर्योधन सुवर्णाकार, टीकापुरका रामराजेश महतो, कञ्चनपुरका वीरेन्द्र राना र भीमराज राना पनि पुर्पक्षका लागि कैलाली कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले अदालतको आदेशअनुसार पाँचै जनालाई कैलाली कारागार चलान गरिएको जानकारी दिए।
प्रहरीका अनुसार यमुना र उनका प्रेमी दुर्योधनको योजनामा गत २१ साउनमा दीपकको हत्या गरी शव कर्णाली नदीमा बगाइएको थियो। दीपकको हत्या गर्न उनीहरूले रामराजेश महतोको सहयोगमा वीरेन्द्र राना र भीमराज रानालाई १ लाख ६० हजार रुपैयाँ सुपारी दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूकै योजनामा यमुनाले श्रीमान् दीपकलाई जानकी गाउँपालिकास्थित अमरावती जंगलमा पुर्याएकी थिइन्। त्यहीँ उनको हत्या गरी शव टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको प्रहरीको दाबी छ।
अमरावती जंगलमा फेला परेको मासुको टुक्रा परीक्षण गर्दा त्यहाँ भेटिएको रगत मानिसको भएको पुष्टि भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा यमुना र उनका प्रेमी दुर्योधनको योजनामा दीपकको हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

