३४ वर्षीय युवकमाथि खुकुरी प्रहार, फरार चार जना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौंको बल्खुमा ३४ वर्षीय युवकमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत असोज ५ गते राति करिब १० बजे बर्नहाट कलेज पछाडिको गल्लीमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने ३४ वर्षीय रिच्याड भन्ने सुमन लामामाथि खुकुरी प्रहार भएको थियो।

घटनापछि घाइते लामाको उद्धार गरिएको थियो। घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले प्राविधिक तथा सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले असोज ९ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष तामाङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भई बल्खु बस्ने ३० वर्षीय सोमबहादुर तामाङ, नुवाकोटको मेघाङ गाउँपालिका–६ घर भई हाल तारकेश्वर–४ बस्ने २५ वर्षीय सुवास भन्ने सुनिल तामाङ र बाराको महागढीमाई नगरपालिका–१० घर भई हाल बल्खु बस्ने ३४ वर्षीय धीरज भन्ने बलराम यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको ब्यागसहितको एक थान खुकुरी, फलामको दाप एक थान तथा घटनाका बेला लगाएका कपडासमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...