
बझाङ । भारतको केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर बझाङका एक जनाको मृत्यु भएको छ। शनिबार साँझ डोली बोक्ने क्रममा ढुंगा लागेर जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको मृत्यु भएको हो।
खड्का केदारनाथ क्षेत्रमा तीर्थयात्रीलाई डोलीमा बोकेर जीविकोपार्जन गर्दै आएका थिए । गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ डोली बोकेर जाँदै गर्दा गौरीकुण्डनजिकै बाटोमाथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
आफन्त सुरेशबहादुर सिंहले धर्मको मृत्यु भएको बताएका छन् । धर्मका वृद्ध आमा, पत्नी र चार महिनाका छोरा छन् । परिवारको मुख्य आर्थिक सहारा रहेका उनको मृत्यु भएपछि परिवार थप संकटमा परेको छ।
भारतमा मृत्यु भएका धर्मको शव नेपाल ल्याउनसमेत परिवारलाई आर्थिक समस्या भएको छ । उनका भाइ नाता भुवन खड्काले आर्थिक अभावमा शव नेपालय ल्याउन समस्या भइरहेको बताएका छन् । उनको परिवारले शव नेपाल ल्याउन सहयोगको अपेक्षा गरेको छ ।

