
काठमाडौं । नेपाली कांग्रेसको समानान्तर १५औँ महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले विभिन्न पदमा उम्मेदवार बन्ने शुल्क निर्धारण गरेको छ।
डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका उम्मेदवारको शुल्क तोकिएको हो।
निर्देशिकाअनुसार वडा सभापतिका लागि २५० रुपैयाँदेखि शुल्क सुरु हुन्छ भने गाउँपालिका सभापति १ हजार, नगरपालिका सभापति २ हजार, जिल्ला सभापति ५ हजार र प्रदेश सभापति १० हजार रुपैयाँ तोकिएको छ।
केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।
त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० र केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।


