


काठमाडौँ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभागको अनुसन्धानपछि सम्पर्कविहीन भएका छन्।


मलेसियाले २५ म्यानपावरलाई मुख्य (प्रिन्सिपल) र २५० म्यानपावरलाई सहायक (एसोसिएट एजेन्सी) का रूपमा सूचीकृत गरेको थियो। निश्चित कम्पनीमार्फत मात्रै श्रमिक पठाउन पाउने व्यवस्था भएपछि श्रम मन्त्रालयले अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो।






विभागले अनुसन्धानका क्रममा व्यवसायीहरूलाई बयानका लागि बोलाउनुका साथै वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति लिएको थियो। सोही क्रममा ट्रस्ट नेपाल म्यानपावरका सञ्चालक रविन गुरुङ पक्राउ परेका थिए। तर, सर्वोच्च अदालतको आदेशपछि उनी हिरासतमुक्त भएका छन्।

गुरुङ पक्राउ परेपछि अन्य व्यवसायी सम्पर्कविहीन भएको र केही भारत तथा मलेसिया पुगेको आशंका गरिएको छ।
विभागले पक्राउ पुर्जी जारी भएका व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ। तोकिएको अवधिमा सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमति रोक्कासहित आवश्यक कानुनी प्रक्रिया अघि बढाउने विभागले चेतावनी दिएको छ।






