


धनगढी । कञ्चनपुरको पुनर्वासबाट सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको मोटरसाइकलसहित २ लाख ५७ हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।



सोमबार बिहान पुनर्वास नगरपालिका–४, घ गाउँस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी आपतालको टोलीले उक्त सामान बरामद गरेको हो ।





सशस्त्र प्रहरी नायब निरीक्षक तर्कराज ओझाको कमाण्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको मोटरसाइकल, महिलाका कपडा, कालो प्लास्टिक र सुर्तीजन्य पदार्थ बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।






