


नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिकता विवादबारे सञ्चारमाध्यममा सार्वजनिक भएका विषय र तथ्यहरूमाथि निष्पक्ष तथा गम्भीर छानबिन गर्न माग गरेको छ।


मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको आधिकारिकतासम्बन्धी विषयमा सार्वजनिक भइरहेका तथ्यहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको हो।






पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले सञ्चारमाध्यममा नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेको भन्दै सबै प्रमाणका आधारमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए।

उनले कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोग र अदालतमा चलखेल भएको भनिएका विषयमा संवैधानिक निकायहरूले नै हस्तक्षेप गर्नुपर्ने धारणा राखे। सरकारबाट हुने छानबिनप्रति आफूहरू विश्वस्त नरहेको उनको भनाइ थियो।
महतले गत पुसमा भएको विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर गरिएको आरोप लगाउँदै निर्वाचन आयोगले पर्याप्त प्रमाण र आधार नहेरी हतारमा आधिकारिकता दिने निर्णय गरेको दाबी गरे। आयोगकै एक सदस्यले समेत उक्त निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेको उनले स्मरण गराए।






