



सरकारले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाएको भन्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै खरेलले पार्टीले सरकारलाई कुनै व्यक्ति राख्न वा हटाउन निर्देशन नदिएको स्पष्ट पारेका हुन् । उनले पार्टीले सरकार सञ्चालनमा प्रधानमन्त्रीलाई सहयोग गर्ने भए पनि नियुक्ति तथा पदमुक्तिका विषयमा हस्तक्षेप नगर्ने बताए ।
‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन,’ खरेलले भने । उनले आईजीपी कार्कीलाई हटाउने विषयमा पार्टीको कुनै भूमिका नरहेको दोहोर्याउँदै पार्टीले त्यस्तो निर्देशन नदिएको र नदिने पनि स्पष्ट पारे । यसैबीच, केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकार पक्राउ परेको घटनाबारे पनि खरेलले सरकारसँग स्पष्टता मागेका छन् ।
पत्रकार पक्राउ प्रकरणमा पक्राउ गर्ने व्यक्ति तथा आदेश दिनेहरूमाथि कारबाही हुनुपर्ने पार्टीको भनाइ रहेको उल्लेख गर्दै उनले सरकारले उक्त घटनामा कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै भएको बताएको स्पष्ट पार्नुपर्ने धारणा राखे ।
सरकारले आईजीपी कार्कीलाई कारबाही नभई जिम्मेवारी हेरफेर गरिएको बताएको उल्लेख गर्दै खरेलले पत्रकार पक्राउ प्रकरणमा सरकारले के निर्णय गरेको हो भन्ने विषय पनि स्पष्ट पार्नुपर्ने बताए ।
यस विषयमा सरकारले नै थप स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।








