


धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो ।



सो क्रममा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक रमेश रानासहितका १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटलमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट नगद ६८ हजार ६१० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको छ ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






