


काठमाडौं । धनगढीमा बन्दै गरेको चार तारे होटल ‘होटल सनलाइट’को लागत बढेको छ । होटलको लागत सुरुमा अनुमान गरेकोभन्दा अहिले बढेको हो ।


कलमबहादुर बम अध्यक्ष रहेको यो कम्पनीले सुरुमा ७५ वटा कोठाको सुविधाको ७२ करोड ७० लाख रुपैयाँमा निर्माण गर्ने योजना बनाएको थियो । जसमा कम्पनीले ४८ करोड ३० लाख रुपैयाँ ऋण र २४ करोड ४० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्ने योजना बनाएको थियो । कम्पनीले लगानीको अनुपात ६६स्३४ राखेको थियो । तर हाल उक्त लागत बढेको छ ।






कम्पनीले निर्माण गर्दै गरेको होटलको लागत अहिले बढेर ७८ करोड रुपैयाँ पुगेको जनाएको छ । कम्पनीले ५४ करोड रुपैयाँ ऋण र २४ करोड रुपैयाँ इक्विटीमार्फत् लगानी गर्ने भएको रेटिङमा उल्लेख छ । हाल संशोधित लागतको ६९:३१ अनुपात रहेको छ ।

कम्पनीले हाल चार तारे होटलको आवश्यक मापदण्डमा परिवर्तन हुँदा लागत बढेको जनाएको छ । कम्पनीले थप गरेको ऋणको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ भने इक्विटीको २५ करोड ६० लाख रुपैयाँ लगानी गरिसकेको छ । हालसम्म कम्पनीको वित्तीय प्रगति ९४ प्रतिशत पुगेको छ । साथै निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले होटलम रेष्टुरेन्ट एन्ड बार, जिम्नासियम, क्यासिनो बोर्ड रुम, ब्याङ्क्वैट र कन्फरेन्स हलको सुविधा हुने जनाएको छ । होटल २ हजार ८ सय २ स्क्वारफिट क्षेत्रफलमा फैलनेछ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५४ करोड रुपैयाँको रेटिङ गराएको छ ।






