

धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनका विषयमा राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगको मात्रै प्रयासले निष्पक्ष निर्वाचन सम्भव नहुने भन्दै सरकारले पनि आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए ।
‘सरकारले अरू कैयन् विषयमा म अरू कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षलाई चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दै गर्दा अरूबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन,’ थापाले भने ।
भदौ २३ र २४ को घटनापछि उत्पन्न राजनीतिक रिक्तताका बेला तत्कालीन सरकारले दलहरूसँग संवाद गरेर निर्वाचनको वातावरण बनाएको स्मरण गराउँदै उनले वर्तमान सरकारले पनि राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने बताए ।
स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा संविधानको व्यवस्था र व्यावहारिक पक्षलाई ध्यानमा राखेर सरकारले दलहरूसँग छलफलमार्फत निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

